२२ कात्तिक, काठमाडौं । ५ दिनसम्म लुक्लाबाट उडान हुन नसक्दा अलपत्र परेका ३/४ हजार पर्यटकको उद्धार गर्न नेपाल सरकारलाई हम्मेहम्मे परेको छ । निजी विमान कम्पनीहरुको सहयोगमा २ हजारभन्दा बढी पर्यटकको ‘उद्धार गरिएको’ भनिएपनि पर्यटकहरुले प्रतिब्यक्ति ६ सय डलरसम्म तिरेर काठमाण्डौं आएका छन, जहाँको एकतर्फी भाडा मुस्किलले यस डलर छ ।
नियमितभन्दा ६ गुना बढि पैसा तिर्दा पनि बिदेशी पाहुनाहरुले भनेको समयमा उडान पाएका छैनन् । अझै सयौं पर्यटक लुक्ला क्षेत्रमा छन् भने सयौं पहिले नै हिडेर जिरीतर्फं लागेका थिए । पर्यटन वर्ष २०११ मनाइरहेको नेपालमा सयौं पर्यटक अलपत्र पर्दा पनि उद्धार हुन नसकेका नकरात्मक खवरहरुले बिदेशी मिडिया रंगिए ।
विभिन्न ट्रेकिङ रुटमा हजारौंको संख्यामा पर्यटकहरु जाने भएपनि आपत्तकालिन उद्धारका लागि कुनै संयन्त्र नै नभएकाले समस्या आएको पर्यटन व्यवसायीहरुले गुनासो गरेका छन् । गृह मन्त्रालय मातहतमा आपत्तकालिन उद्धार समन्वय केन्द्र भएपनि स्रोत र साधनको अभाव छ । पर्यटन व्यवसायीहरुको तर्फबाट हिमालयन रेस्क्यु एसोसिएशन गठन भएपनि कुनै स्रोत र साधन छैन । नत उद्धार कार्यमा जुट्न आवश्यक पर्ने डाक्टर, एम्बुलेन्स हेलिकोप्टर लगायतका अत्यावश्य साधन नै छ न त उचित रकमको प्रवन्ध नै ।
१९९४ को जस्तै हिमआँधी आए के होला ? ‘हिमआँधी आउने हो भने अब के गर्ने भनेर एक अर्कासँग भन्नु र कराउनु वाहेक हामीसँग कुनै विल्पक छैन’-पर्यटक उद्धार संयोजन समितिका संयोजक विक्रम न्यौपानेले भन्नुभयो । ‘उद्धारका लागि भनेर गठन भएको हिमालयन रेस्क्यु एसोसिएशनसँग स्रोत साधन नै छैन’ ट्रेकिङ एसोसिएशन अफ नेपालका पूर्व अध्यक्ष जेबी सिंहले भन्नुभयो-’उद्धारका लागि स्रोत साधन सहितको संयन्त्र आवश्यक छ ।’
पर्यटक उद्धार संयोजन समितिका संयोजक न्यौपाने पनि सिंहको भनाई सहमत हुनुहुन्छ । उहाँले भन्नुभयो-’उद्धारका लागि हेलिकोप्टरको त कुरै नगरौ, हामीसँग कम्युनिकेशनका लागि समेत आवश्यक व्यवस्था मिलाइएको छैन ।’ संरक्षण विद् हर्क गुरुङलगायत चढेको हेलिकोप्टर घुन्सामा दुर्घटना हुँदा स्याटेलाइट फोनले काम नगर्दा उद्धार गर्न नसकिएको सम्झिदै भन्नुभयो-’त्यसबेला स्याटेलाइट फोनले काम गरेको भए उहाँहरुलाई बचाउन सक्ने सम्भावना थियो ।’ कम्तिमा दुई ओटा हेलिकोप्टर, सहित स्रोत साधनसहित उद्धार संयन्त्र बनाउनु पर्ने पर्यटन व्यवसायीहरुको जोड छ ।
टानका पूर्व अध्यक्ष सिंहले भन्नुभयो-’अब तत्काल उद्धार संयन्त्र नाउनु पर्छ । जहाँ जुनसुकै बेला उपलब्ध हुने हेलिकोप्टरदेखि सबै थोक होस् ।’ उहाँले यस पटक सेनाको हेलिकोप्टर लैजाने समयमा आवश्यक रकम समेत ट्रेकिङमा जाने मजदुरहरुका लागि स्थापना गरिएको कोषबाट खर्च गर्नु परेेको भन्दै उद्धार संयन्त्रमा आवश्यक रकमको समेत प्रवन्ध गर्नु पर्ने बताउनु भयो ।
तर, पर्यटन मन्त्रालयका प्रवक्ता हरिप्रसाद बस्याल भने उद्धार संयन्त्र नै नभएको भन्ने पर्यटन व्यवसायीहरुको भनाई मान्न तयार हुनुहुन्न । सेना, प्रहरी तथा स्थानीय प्रशासनको सहयोगमा उद्धार कार्य भइरहेको भन्दै उहाँले भन्नुभयो-’मौसमले साथ दिएन भने हेलिकोप्टर भएर मात्र पनि हुँदैन । त्यसैले ट्रेकिङ रुटलाई सडकसँग जोड्नुको विकल्प छैन ।’
असहयोगी सेना
सन् १९९४ मा हिमआँधी आउँदा सेनाको हेलिकोप्टरबाट पर्यटकहरुको उद्धार गरिएको थियो । तर, यसपटक सेनाबाट पनि सहयोग नपाएको पर्यटन व्यवसायीहरुको गुनासो छ । ‘एमआई १७ हेलिकोप्टरका लागि सेनालाई गुहार्यौं’ पर्यटक उद्धार संयोजन समितिका संयोजक विक्रम न्यौपानेले भन्नुभयो-’तर, सोचे अनुसार सहयोग पाएनौं ।’ नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख उत्सव खरेलले पनि सेनाबाट सोंचे अनुसार सहयोग नपाएको बताउनु भयो । उहाँका अनुसार सेनाको एमआई १७ हेलिकोप्टरले लुक्लाबाट एक र लामिडाँडाँबाट एक उडान मात्र भरेको छ । सेनाको हेलिकोप्टरबाट धेरै पर्यटकहरुको उद्धार गर्न सकिन्छ भन्ने थियो’ उहाँले भन्नुभयो-’खै किन हो, सोचेअनुसार भएन ।’
करिव ७ सयलाई काठमाडौं ल्याइयो
निजी विमान कम्पनीको हेलिकोप्टर र विमानबाट मंगलबार करिव ७ सयलाई काठमाडौं ल्याइएको छ । पर्यटकहरुको ओसार्न सीता, तारा, अग्नि, सिमि्रक, फिस्टेल लगायका विमान कम्पनी प्रयोग गरिएको छ । नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख उत्सव खरेलले अनलाइनखबरसँग भन्नुभयो-’आज करिव ७ सय पर्यटकको उद्धार गरिएको छ । मौसमले साथ दिए भोलिसम्ममा उद्धार कार्य सकिन्छ ।’ विहान ९ बजेपछि मात्र त्रिभुवन विमानस्थलबाट उडान भर्न सक्नु र प्रधानमन्त्रीको विदेश भ्रमणका कारण केहीबेर उडान ‘डिले’ हुँदा सोंचेअनुसार पर्यटकहरुको उद्धार गर्न नसकिएको उहाँको भनाई थियो । यसअघि सोमबार एक हजारभन्दा बढी र आइतबार करिव ५ सय पर्यटकको उद्धार गरिएको थियो ।
No comments:
Post a Comment