१९ कात्तिक, काठमाडौं । हिजोआज दिनमा झण्डै सातवटा साहित्यिक पुस्तक प्रकाशित हुन्छ । स्रष्टा र प्रकाशन गृहहरुको संख्या थपिंदै जाँदा बजारमा पुस्तक पनि उसैगरी चाङ लागेका छन् । देशभर झण्डै १२ सयवटा पुस्तक प्रकाशन गर्ने संस्थाहरु छन् । पछिल्लो समयमा पुस्तक पढ्ने वानीको केही विकास भएपनि हुनुपर्ने जति भएन भन्ने स्रष्टाहरुको गुनासो छ । स्रष्टा र प्रकाशन गृह बढेसँगै पुस्तक खोजेर पढ्नेहरुको जमात पनि विस्तारै बढ्दैछ । तर यस्तो संख्या आशा गरेअनुसार चाहिं छैन । त्यसैले पुस्तक पढ्ने संस्कृतिको विकास गर्न बिभिन्न कार्यक्रम पनि हुने गरेका छन् । सम्मेलन, गोष्ठी जस्ता कार्यक्रम बाक्लिरहेको अवस्थामा एउटा संस्थाले अध्ययन प्रतियोगिताकै आयोजना गरेको छ । द रिडर्स क्लवले पढन्तेहरुको लागि नौलो अभियान शुरु गरेको हो । क्लवको आयोजनामा काठमाडौंमा यही कात्तिक २५ गतेदेखि बृहत् पुस्तक अध्ययन प्रतियोगिता हुँदैछ ।
कसरी सहभागी हुने प्रतियोगितामा ?
प्रतियोगितामा सहभागी हुन चाहनेले रिडर्स क्लवको वेबसाइट www.readersclub.org.np मा गएर फर्म भर्न सक्छन् । प्रतियोगीले १८ महिनामा एकसयवटा पुस्तक अध्ययन गर्नुपर्नेछ । आयोजकका अनुसार प्रतियोगिता तीन चरणमा सञ्चालन हुनेछ । प्रतियोगीले पहिलो चरणमा ४० वटा, दोस्रो चरणमा ३५ वटा र तेस्रो चरणमा २५ वटा पुस्तक अध्ययन गर्नुपर्ने हुन्छ । यस अनुसार १८ महिनाभित्र एक सयवटा पुस्तक पढिसक्नुपर्ने हुन्छ । यसरी अध्ययन गर्नुपर्ने पुस्तकहरु नेपाली, अंग्रेजी साहित्य, इतिहास, सभ्यता, दर्शनशास्त्र, कानुन, राजनीतिशास्त्र, बालसाहित्य, मनोविज्ञान, समाजशास्त्रका छन् । प्रतियोगितामा पूर्वविजेता, परिचित लेखक, सम्पादक, उपन्यासकार, साहित्यकार, प्राध्यापक, डाक्टर लगायतले भने भाग लिन पाउने छैनन् । वर्षको उत्कृष्ट पाठकलाई एकलाख ५५ हजार रुपैंया नगद पुरस्कार सहित ट्रफी र प्रमाणपत्र दिने योजना छ । प्रतियोगितामा सबैलाई खुला गरिएको छ । प्रतियोगीले आफूले पढ्ने पुस्तकको बारेमा पहिल्यै जानकारी दिनुपर्ने आयोजक रिडर्स क्लवले जनाएको छ । उसले पढेको आधारमा निणर्ायक मण्डलले मूल्याँकन गर्नेछ । रिडर्स क्लवले आयोजना गरेको यो प्रतियोगिता दोस्रो हो । अघिल्लो वर्ष पनि उसले यस्तै प्रतियोगिता गरेको थियो । ‘युवाहरुमा पुस्तक पढ्ने बानीको विकास गर्नकै लागि यो प्रतियोगिता आयोजना गरिएको हो’ रिडर्स क्लवका सदस्य नविन डाँगीले भन्नुभयो-’पहिलो कार्यक्रममा उत्साहजनक सहभागिता भएको थियो । यसपाली पनि यस्तै उस्ताह हुन्छ भन्ने हाम्रो अनुमान छ ।’
प्रकाशक र बिक्रेता पनि हौसिँदै
पठन संस्कृतिको विकास गर्न बिभिन्न कार्यक्रम हुन थालेपनि प्रकाशक र विक्रेताहरु पनि दंग परेका छन् । पुस्तक पढ्नेहरुको जमात थपिनु भनेको पुस्तकको व्यापार पनि बढ्नु हो । केही वर्षदेखि पुस्तक प्रदर्शनी र साहित्यिक सम्मेलन जस्ता कार्यक्रमले पठन संस्कृतिको विकासमा टेवा दिएको स्रष्टाहरु बताउँछन् । नेपाल प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशन जस्ता सरकारी र निजी क्षेत्रका संघसंस्थाले यस्ता कार्यक्रमको आयोजनालाई तीव्रता दिएका छन् ।
यस्ता कार्यक्रममले नेपाली पाठकलाई पुस्तकप्रति आकषिर्त गराएको छ भने प्रकाशक तथा वितरकका लागि पनि उपयुक्त अवसर प्रदान गर्ने गरेको छ । यो पर्याप्त नभएपनि अध्ययन प्रतियोगिता र अरु उदेश्यले हुने साहित्यिक सम्मेलनले पुस्तकको व्यापार बढाउन पनि सहयोग गर्ने प्रकाशक र वितरकहरुको आशा छ ।
No comments:
Post a Comment